
नेकपा माओवादी केन्द्रले माघ २७ गते केन्द्रीय कमिटी बस्ने भनेर प्रतिनिधिसभा बैठक सार्न लगाएको थियो। उसकै आग्रहमा २६ गते बस्ने भनिएको बैठक फागुन २ गते बस्दैछ।
माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौताबारे थप छलफल गर्ने भनेर प्रतिनिधिसभा बैठक सार्न लगाएको हो। माओवादीको केन्द्रीय कमिटी बैठक माघ २८ र २९ गते प्रज्ञा भवनमा बस्दै थियो। त्यसका लागि हलसमेत बुकिङ भइसकेको थियो।
तर बिहीबार साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकाएक केन्द्रीय कमिटी बैठक स्थगन गरिदिए। उक्त बैठक अब कहिले बस्छ भन्ने टुंगो छैन।
माओवादी केन्द्रका एक नेताका अनुसार एमसिसीबारे पार्टीको निर्णय परिमार्जन गर्न नसक्ने भएर बैठक स्थगन गरिएको हो।
‘राजनीति कतातिर जान्छ भन्ने अन्यौल छ। प्रधानमन्त्री एमसिसी पारित गर्न एकोहोरो लागिरहनुभएको छ,’ ती नेताले भने, ‘यस्तो अवस्थामा विकसित घटनाक्रमपछि मात्र बैठक बस्न उचित हुन्छ।’
एमसिसीसँगै पार्टीभित्रको कार्य विभाजनका कारण पनि बैठक स्थगित भएको अर्का एक नेताले बताए। Setopati bata