बुधबार १२ माघ २०७८

अर्थमन्त्री जनार्दन शर्माले ठूलो घोषणा गरेका छन् । उनले किसानको खातामा हरेक दिन पैसा आउने दिन आएको बताएका हुन् । आज शुक्रवार रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ नम्वर वडामा डेरी प्लान्ट (दूध उद्योग) को शिलान्यास गर्दै अर्थमन्त्री शर्माले समाजको समृद्धि कृषि क्रान्ति र उत्पादनको माध्यमबाट हुने बताए ।

स्यार्पु पावर कम्पनी लिमिटेड अन्तर्गतको स्यार्पु कृषि कम्पनी लिमिटेडको २३ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको यस उद्योगको शिलान्यास गर्दै अर्थमन्त्री शर्माले कृषिमार्फत आर्थिक गतिविधिलाई चलायमान बनाउन उद्योग सफल साबित हुने बताए ।

‘कृषि उत्पादनलाई प्रोत्साहन गरिनुपर्छ’, उनले भने, ‘उद्योग छिटै सञ्चालनमा आउनेछ र किसानको हातहातमा पैसा जानेछ’ । मन्त्री शर्माले हरेक किसानको घरमा उन्नत गाईभैँसी पालन हुने र उत्पादन भएको दूध प्रशोधन गरेर मुनाफा किसानलाई नै दिने बताए ।

स्यार्पु पावर कम्पनीका प्रमुख प्रदीप ओलीले उद्योगमा प्रति दिन ४० हजार लिटर दूध प्रशोधन गरिने लक्ष्य राखेको बताए । उनले ३६ हजार लिटर दूधको छुर्पी बनाएर विदेश निर्यात गरिने र चार हजार लिटरको फ्लेबर मिल्ड बनाएर बजारीकरण गरिने बताए ।

भवन निर्माणको पहिलो चरणको काम गर्ने गरी ठेक्का पाएको हिमालयन कुँवर जेभीले ६ महिनामा काम सक्ने जनाएको छ ।


Last Updated on: November 29th, 2021 at 9:12 am
२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया