मंगलबार ०३ जेठ २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता प्रतिनिधिसभामा छलफलका लागि प्रस्तुत गर्ने बताएका छन्। यदि उनले प्रस्तुत गर्न नचाहने हो भने सभामुखबाट राजीनामा गर्नुपर्ने पनि उनले बताए।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रचण्डले शनिबार राति भने, ‘‘सभामुख अग्नि सापकोटाजीले अब यसलाई रोकेर राख्न सक्नुहुन्न। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अघि बढाउन भन्नुभयो भने उहाँले संसद्मा छलफल गराउनुपर्छ।’’

प्रधानमन्त्रीले अघि बढाउन चाहेको कुरा सभामुखले रोक्न नमिल्ने उनले बताए। ‘‘सभामुखजीले एकपटक सर्वदलीय बैठक राखेर आफ्ना धारणा राख्न खोज्नुभएको छ। अब उहाँले रोक्नुहुन्न ’’ प्रधानमन्त्रीले अघि बढाउन चाहेको कुरा सभामुखले रोक्न नमिल्ने बताउँदै प्रचण्डले भने, ‘‘यदि उहाँले एमसीसी अघि बढाउँदिनँ भन्ने हो भने राजीनामा गर्नुपर्छ। उहाँले त्यसो गर्नुहोला जस्तो मलाई लाग्दैन, उहाँले अघि बढाउनहुन्छ।’’

उनले अहिलेको अवस्थामा एमसीसी परिमार्जनविना पारित गर्न नसकिने स्पष्ट पारे । तर प्रधानमन्त्रीले यही अवस्थामा प्रस्ताव ल्याएमा आफूहरु सरकारमा नरहने पनि स्पष्ट पारे ।

“हाम्रो चाहना सहमति होस् भन्ने हो । तर प्रधानमन्त्रीले चाहनुभयो भने टेबुल हुन्छ,” उनले भने, “सहमति र संशोधनबिना टेबुल नगरौँ भन्ने हाम्रो मत हो । तर प्रधानमन्त्रीले टेबुल गर्छु भन्नुभयो भने हुन्छ । तर हामी पक्षमा जान सक्दैनौँ । त्यसपछि विरोधमा बहस गर्छौँ ।

त्यो अवस्थामा के हुन्छ भने हामी नैतिकरुपले सरकारमा बस्न मिल्दैन । हामीले गठबन्धन छोड्नुपर्ने अवस्था आउन सक्छ । यहाँ अर्को ढंगले समीकरण बन्न पनि सक्छ ।”

उनले त्यसअघि सभामुखले पनि सर्वदलीय बैठक राखेर निकास निकाल्ने प्रयास गर्ने बताए ।

“त्यस्तो अवस्थामा हामी विपक्षमा मतदान गर्छौँ त्यो अवस्थामा हामी सरकारमा रहँदैनाँै,” उनले भने, “हामी अहिले कुनै हालतमा पक्षमा उभिदैनौँ । विरोधमा रहन्छौँ ।”

एमसीसीको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाको धारणा अहिले जे थियो त्यही रहेको र आफूहरुको धारणा पनि पहिलेदेखि अहिलेसम्म एउटै धारणा रहेको बताए ।

प्रचण्डले अहिले पनि आफू गठबन्धन जोगाउन क्रियाशील रहेको बताउँदै प्रधानमन्त्री देउवा पनि त्यही प्रयासमा लागिरहेको बताए। उनले एमसीसीमा राष्ट्रिय सहमति नभई प्रक्रियामा अघि बढेमा भने आफूहरूले विपक्षमा मतदान गर्ने हुनाले गठबन्धनबाट बाहिरिनुपर्ने अवस्था आउने पनि बताए। pathivara news


Last Updated on: February 14th, 2022 at 1:07 pm
४२० पटक हेरिएको

तपाईको प्रतिक्रिया