बिहिबार १३ माघ २०७८

काठमाडौँ । चितवनमा जारी नेकपा एमालेको महाधिवेशनलाई कांग्रेस नेता गगन थापाले ‘ओलीवेशन’ भन्दै कटाक्ष गरेका छन् ।

शनिबार काठमाडौँमा आफूपक्षीय जिल्ला सभापति उम्मेदवार सबुजकृष्ण बानियाँको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै नेता थापाले एमालेको अहिलेको अधिवेशन केपी ओलीलाई ‘बा’ बनाउनेहरुको भेला मात्र रहेको भन्दै व्यंग्य गरे ।

उनले भने, ‘आज त्यहाँ नारायणी किनारमा सबै बा का छोराछोरीहरू मात्रै छन् । सबैले बा ! बा !! मात्रै भनिरहेका छन् । त्यहाँ अधिवेशन भइरहेको छैन, ओलीवेशन भइरहेको छ ।’

तर एमालेको महाधिवेशनलाई भने उनले महाधिवेशनको संज्ञा नै दिन मानेनन् । शुक्रबार आफ्नो टोलका अभिभावकहरूले एमालेले यत्रो ७७ जिल्लाको अधिवेशन सक्दा पनि थाहै नभएको तर कांग्रेसीहरूको भने जता हेर्‍यो उतै लफडा मात्र देखेको बताएको रोचक प्रसंग पनि थापाले सुनाए । उनले भने, ‘मेरो जवाफ थियो कि एमाले र हामीहरूबीचमा फरक छ ।

हाम्रो अधिवेशन हो भने उनीहरुको ओलीवेशन हो । हाम्रो पार्टीको अधिवेशनमा कार्यकर्ताहरू सहभागी हुन्छन्, हरेक कार्यकर्ता आफैँमा स्वतन्त्र व्यक्ति हुन् । हरेक स्वतन्त्र व्यक्तिको आफ्नो मत छ, जहाँ मत हुन्छ, त्यहाँ मतभेद हुन्छ । तर, ओलीवेशनमा त्यहाँ कोही पनि स्वतन्त्र कार्यकर्ता छैनन्, त्यसैले मतभेद छैन । त्यहाँ बा बनाउनेहरु छन् ।’

उनले एमालेमा अहिले कसले ओली बा को पाउमा राम्रोसँग तेल दल्न सक्छ भन्ने प्रतिस्पर्धा मात्र भइरहेको आरोप लगाए । साथै आफूहरु अधिवेशन भने त्यस्तो नरहेको उनको भनाइ थियो ।

सो क्रममा उनले कांग्रेसको जिल्ला अधिवेशनबारे नआत्तिन समेत आग्रह गरे । उनले भने, ‘कांग्रेसको अधिवेशनको समाचार आउँदै गर्दा नआत्तिनुहोला साथीहरु, कहीँकतै सीमाहरू नाघिएका छन् । तर, यो हाम्रो पार्टीको अधिवेशन हो । हामीबीच जति मतभेद भए पनि त्यही बीचबाट कुशल नेतृत्व चयन गर्छौं । यो हाम्रो पार्टीभित्रको लाकतान्त्रिक अभ्यास हो ।’

उनले पार्टीको नेतृत्व नदीजस्तो सलल बगेको हुनुपर्ने समेत बताए । कांग्रेसको अबको नेतृत्वले ३५ लाख मतदाताको विश्वास जित्न सक्नुपर्ने उनको भनाइ थियो ।


Last Updated on: November 29th, 2021 at 9:27 am
१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया