मंगलबार ०३ जेठ २०७९

काठमाडौं फागुन ८

नेकपा एमालेले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ।

बुधबार बसेको एमाले संसदीय दलको बैठकले एमसिसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए।

बैठकले एमसिसीसँगै सभामुखको भूमिका एमालेविरोधी माओवादी पार्टी कार्यकर्ता जस्तो भएको, निर्वाचन आयोग एमाले टुक्रयाउन उद्धत रहेको, जयसिंह धामीको घटनामा सरकारी व्यवहार भारतसामु लम्पसारवादी देखिएको निष्कर्ष निकालेको उनले बताए।​

एमालेविरुद्ध भएका पछिल्ला गतिविधिमा मूकदर्शक भएर नबस्नेसमेत उनले बताए।

यस्तै, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमसिसी पास गर्ने जिम्मा आफूहरूको नभएकाले अहिले धारणा बनाउन हतार गर्नु नपर्ने बताए।

ओलीले भने, ‘एमसिसीबारे छलफल भइरहेको छ। यो पास गर्ने जिम्मा हाम्रो होइन। हामीले सम्झौता गरेको पनि होइनौँ। संसदमा पेश भएपछि हामीले निर्णय लिन्छौँ।’

बैठकका सांसदहरुले एमसिसीबारे पार्टीको धारणा मागेका थिए। भने, अधिकांशले एमसिसी नेपालको हितमा नभएको बताएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय, प्रदेश र संघका तीनवटै चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

स्थानीय तहको चुनावको सन्दर्भमा एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अहिलेको सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी गरे ।

‘आउँदो निर्वाचनमा हामी बहुमतले जित्छौं अरु के गर्लान् विचरा ! भाग्ने उम्कने ठाउँ छ भने खोजे हुन्छ । संघीय र प्रदेशमा पनि हामी आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नेछौं । गठबन्धनसँगै लडेर बहुमत प्राप्त गर्नेछौं,’ उनले भने ।

उनले अब मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न पनि आग्रह गरे । ‘अबका निर्वाचन बत्ती निभाएर मतपत्र च्यातेर जित्ने सपना नदेखे हुन्छ,’ ओलीले भने । उनले पार्टी विभाजनको असर कम नै रहेको दाबी गरे ।

‘षड्यन्त्र रुपमा पार्टी विभाजन गर्दा पनि स्थानीय निकायमा पार्टीको वर्चश्व छ । विभाजनको असर दुई डिजिटभन्दा कम नै विभाजन भयो,’ उनले भने ।

गत चुनावमा पनि गठबन्धनसँग एक्लै लडेर ४१ प्रतिशत स्थानमा विजय हासिल गरेको उल्लेख गर्दै ओलीले अब पनि त्यो स्थान कायम हुने दाबी गरे ।


Last Updated on: February 20th, 2022 at 3:43 pm
४०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया