मंगलबार ०३ जेठ २०७९

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफूलाई लागेको कुरा दाँयाबाँया नसोची सिधै बोलिहाल्छन् । धेरै भूमिका नबाँधी ठाडै विषयमा प्रवेश गर्ने र भन्नुपर्ने कुरा फ्याट्ट भनिहाल्ने देउवाको शैली हो ।

पछिल्लो समय एमसीसी र पाँचदलीय गठबन्धनमा उत्पन्न विवादबारे हुने छलफलहरुमा पनि देउवाको प्रष्ट भनाइ आउने गरेको छ – एमसीसी पेश गरौँ, गठबन्धन पनि कायम राखौँ ।

एमसीसीको संसदीय अनुमोदनलाई लिएर गठबन्धनभित्रको विवादले राजनीतिक ध्रुवीकरण बढेका बेला प्रधानमन्त्री देउवाले बिहिबार विभिन्न पक्ष र नेताहरुसँग छलफल गरे । बिहिबार नै क्याबिनेट बैठक पनि डाके’ ।

क्याबिनेटमा राजनीतिक विषयमा केही नबोलेका देउवाले लगत्तै केही मन्त्रीहरुलाई बोलाएर छलफल गरे । मन्त्रीहरुसँगको कुराकानीमा पनि सदाझैँ उनले प्रष्टसँग एक वाक्यमा भने- एमसीसी संसदमा इन्डोर्स गरेर जाऊँ !’

एक मन्त्रीका अनुसार प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री केपी ओलीका पालामा एमसीसी गिजोलिएको र त्यसलाई पार लगाउन अहिले सकस परिरहेको पनि बताएका थिए ।

‘मलाई त थाहा पनि थिएन, एमसीसी संसदमा लैजानुपर्ने बनाइएको रहेछ । म त यो होल प्रोसेसमा आउटअफ रिङ्गमा छु । क-कसले के-के गरे, अन्तिममा मेरो टाउकामा आयो’, सहभागी एक मन्त्रीले देउवाको कुरा सुनाउँदै भने ‘यो पार्लियामेन्टमा आउने इश्यु नै थिएन, ओलीले घुसाए । अहिले मलाई अप्ठेरो पारेका छन् ।’

एमसीसीलाई आन्तरिक राजनीतिको दाउपेचको मामला बनाएकोमा प्रधानमन्त्री देउवा गठबन्धनका अन्य दल र नेतासंग पनि सन्तुष्ट नदेखिएको ती मन्त्रीले बताए । अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा संवेदनशील हुनुपर्नेमा उनको जोड थियो ।


Last Updated on: February 22nd, 2022 at 6:30 am
३६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया