मंगलबार ०३ जेठ २०७९

अमेरिकी सहयोगसम्बन्धी सम्झौता ‘एमसिसी’ लामो विवादपछि आइतबार प्रतिनिधिसभा बैठकबाट अनुमोदन भएको छ।

एक दिनअघिसम्म कुनै हालतमा पारित हुन नदिने अडान लिँदै आफ्ना कार्यकर्तालाई सडकमा ओरालेका सत्तारूढ गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी पनि आखिरमा एमसिसीको पक्षमा उभिएका छन्।

सत्ता गठबन्धन दलहरू एमसिसी पारित गर्न सहमतिको विन्दुमा कसरी आइपुगे त?

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिपक्षमा हुँदा पनि एमसिसी अनुमोदन गर्नुपर्ने पक्षमै थिए। प्रधानमन्त्री बनेपछि उनले एमसिसीलाई आफ्नो प्राथमिकतामा मात्र राखेनन्, गत माघदेखि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग सहमति जुटाएर यो प्रस्ताव संसदबाट अनुमोदन गराउन धेरै नै कसरत पनि गरे।

माओवादी र एकीकृत समाजवादी एमसिसीको विरोधमा उभिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद अघि बढाउन पनि देउवा पछि परेनन्। यसको निम्ति उनले आफूनिकट नेताहरूलाई एमालेसँग संवाद गर्न खटाएका थिए।

यसरी एमसिसी पारित गराउन सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेसँग समानान्तर संवाद गरेका देउवाले फागुन ४ को संसद बैठकमै एमसिसी पेस गर्न चाहेका थिए। तर गठबन्धनको आग्रहमा फागुन ६ गते मात्र पेस गर्ने तयारी भयो।

sanimancit
यसका लागि फागुन ५ गते साँझ बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो। बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको बैठक ७ गते भएकाले त्यसको अर्को दिन अर्थात् फागुन ८ गते मात्र संसदमा एमसिसी टेबल गर्न आग्रह गरे।

त्यस दिन देउवालाई सत्ता गठबन्धनबाट एमसिसी पारित गराउन सहयोग हुँदैन कि भन्ने शंका पस्यो।

उनी गठबन्धन बैठकलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगे र एमालेसँग सघन संवाद अघि बढाए।

प्रधानमन्त्री देउवाले गठबन्धन तोडेर भए पनि एमसिसी पास गराई छाड्ने दृढता देखाएपछि माओवादी केन्द्र र एकीकृत समाजवादी झस्किए।

यही क्रममा फागुन ७ गते बसेको एकीकृत समाजवादीको बैठकले संसदमा एमसिसी पेस गर्न दिने निर्णय त गर्‍यो, तर सहयोग गर्न तयार भएन।

गठबन्धन दलहरूबीच दुरी बढ्दै गएका बेला नेपाली कांग्रसका महामन्त्री गगन थापा, अर्थमन्त्री जनार्दन शर्मा, माओवादी नेता शक्ति बस्नेत, अधिवक्ता गोविन्द बन्दी, सहरी विकासमन्त्री रामकुमारी झाक्री, श्रममन्त्री किसान श्रेष्ठ लगायतले एमसिसी पारित गराउन आफ्ना पार्टीभित्र मध्यमार्गी बाटो खोजी गरिरहेका थिए।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाँड र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि यसमा सक्रिय थिए। माओवादी केन्द्रका वर्षमान पुन बिरामी भएकाले धेरै सक्रिय भएनन्। तर उनी पनि एमसिसी पारित हुनुपर्ने पक्षमै थिए। एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पनि सक्रिय भूमिका खेले।

गठबन्धन दलका शीर्ष नेताहरू एकातिर छलफलमा थिए भने सँगसँगै पार्टीको दोस्रो तहका नेता तथा मन्त्रीहरूले मध्यमार्गी बाटो खोज्ने प्रयास जारी राखे।

माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसिसीमा संशोधन चाहेकाले सुरक्षित अवतरणका लागि मध्यमार्गी बाटो खोजिएको थियो।

दोस्रो तहका नेताहरूको प्रयासस्वरूप एमसिसीका विवादित बुँदामा व्याख्यात्मक टिप्पणी लेखेर संसदबाट पारित गराउने प्रस्तावमा कुरा अघि बढ्यो। अधिवक्ताद्वय गोविन्द बन्दी र सेमन्त दाहालले व्याख्यात्मक टिप्पणीको मस्यौदा तयार गरे। त्यसपछि माघ ९ गते अधिवक्ताद्वय बन्दी र दाहालसहित कांग्रेस महामन्त्री गगन थापा र सहरी विकासमन्त्री रामकुमारी झाक्रीसहितको बैठकले एमसिसीको व्याख्यात्मक टिप्पणी शीर्ष नेताहरूलाई बुझाउने सहमति गरे।

उनीहरूले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित केही मन्त्री, प्रमुख सचेतक जीवनराम श्रेष्ठ लगायतलाई व्याख्यात्मक टिप्पणीबारे बुझाए। कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्रीलाई यसमा मनाउने प्रयास गरे। यसका बाबजुद फागुन १२ गते प्रतिनिधिसभा बैठक चल्ने अवस्था बनेन। प्रतिनिधिसभा बैठक सूचना टाँसेर १४ गतेसम्मका लागि स्थगित भयो। त्यसपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल धनगढी गए भने एमसिसीको विरोधमा सडक आन्दोलन पनि चर्कियो।

धनगढी जाने बेला नेपालले आफ्ना मन्त्रीहरूलाई जुनसुकै बेला सरकार छाड्नपर्ने अवस्था आउनसक्ने भनेका थिए।

फागुन ११ गते नै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको छलफल सकारात्मक भएको थिएन। प्रचण्डले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउन सक्ने चेतावनी देउवालाई दिएका थिए। देउवाले पनि एमसिसी पारित गराउन सहयोग भएन भने गठबन्धन नरहने भनेका थिए।

यसबीच फागुन १० गते देउवाले ओलीलाई भेटेपछि कांग्रेस र एमाले मिलेर एमसिसी पारित गराउने सम्भावना बढेको थियो। यसैको निरन्तरतास्वरूप फागुन १२ गते प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरूले एमाले अध्यक्ष ओलीसहितका नेताहरूसँग संसद भवनमा छलफल गरे। कांग्रेस र एमाले नेताहरूको बैठकलगत्तै एमाले र माओवादी नेताहरूको पनि बैठक बसेको थियो।

त्यसै दिन साँझ बालुवाटारमा एमाले र कांग्रेसका नेताहरूको बैठक बस्यो। भोलिपल्ट फागुन १३ गते बालकोटमा फेरि एमाले र कांग्रेसका नेताहरूको बैठक बस्यो। बैठकमा प्रधानमन्त्री देउवाले माओवादीबाट आफूले एमसिसी पारित हुने अपेक्षा नगरेको बताएका थिए।

त्यसै दिन माओवादी र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरूले प्रधानमन्त्री देउवासमक्ष व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्न सकिने आधार प्रस्तुत गरेका थिए।

‘हामी १३ गते रातिदेखि आशावादी भएका थियौं। व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्न सकिने कुरा प्रचण्ड र माधव नेपाललाई बताइसकेका थियौं। पार्टीमा पनि यसलाई मनाउन सकिने आधार तयार भइसकेको थियो,’ एक मन्त्रीले भने, ‘कांग्रेसलाई पनि एमालेले साथ दिने अवस्था आएन। माओवादी र एकीकृत समाजवादीले पनि ओली सत्तामा फर्किए भने अप्ठ्यारो पर्छ भन्ने बुझेपछि सहमतिको वातावरण बन्यो।’

सत्ता गठबन्धनबाटै सहमति हुने भएपछि देउवा शनिबार बालकोट नगएको स्रोतको दाबी छ।

त्यसपछि फागुन १४ गते कांग्रेस महामन्त्री थापा र माओवादी नेता शक्ति बस्नेतले एमसिसी र अमेरिकी दूतावाससँग कुरा गरेका थिए। त्यही सन्देश लिएर उनीहरू बालुवाटार गए अनि आफ्ना नेताहरूलाई समेत मनाउने काम गरे।

यसबीच ओलीले कांग्रेस र माओवादीमध्ये एकलाई साथ दिएका भए अहिलेको गठबन्धन तोडिने अवस्थामा रहेको एक माओवादी नेताको भनाइ छ।

ओलीले देउवालाई माओवादी र एकीकृत समाजवादीलाई सरकारबाट निकालेर मात्र आफूसँग कुरा गर्न भनेका थिए। आफूले कारबाही गरेका १४ जना सांसदलाई निष्कासन गर्नुपर्ने वा सभामुख अग्नि सापकोटालाई महाअभियोग लगाउनुपर्ने सर्त पनि राखेका थिए। देउवा भने एमसिसी पारित गराएपछि मात्र अरू कुरामा छलफल गर्ने पक्षमा थिए।

उता माओवादीसँगको छलफलमा पनि ओलीले पहिले प्रचण्डले आफूविरूद्ध लगाएको १९ बुँदे आरोपपत्र फिर्ता लिएपछि मात्र थप कुराकानी अघि बढ्ने भनेका थिए।

दुवैतर्फ भइरहेका सिलसिलेवार बैठकबीच आखिरमा दोस्रो तहका नेताहरूले प्रस्ताव गरेको व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गराउने प्रस्तावमा माओवादी र एकीकृत समाजवादीका नेताहरू सहमत भए। यसो गर्दा उनीहरू आफैंले उठाएको विवादित मुद्दामा व्याख्या हुने र सडकमा छरिएका भ्रम निवारण हुने उनीहरूको निर्क्यौल रह्यो।

‘हामी सरकार छाड्न तयार भएरै हिँडेको हो। तर सकेसम्म गठबन्धन रहोस् भन्ने हाम्रो चाहना छँदै थियो,’ माओवादीका अर्का एक नेताले भने, ‘आखिरमा परिस्थितिले फेरि एकचोटि हामीलाई एक ठाउँ ल्यायो।’सेतो पाटी बाट


Last Updated on: March 1st, 2022 at 9:24 am
१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया