
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति र चुनावमा युवाहरुको हस्तक्षेपकारी भूमिका आवश्यक रहेको बताएका छन्।
‘एकथरी नेताहरु विगत एकतीस वर्षदेखि सत्तामा छन्। केही सीमित नेताहरुको प्रभावमा शासन सत्ता चलिरहेको छ। तर, देशको अवस्था ओरालो लाग्दो छ, प्रणाली नै असफल भएको छ,’ राप्रपा अध्यक्ष लिङ्देनले भने।
‘शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई फेरी कति पटक प्रधानमन्त्री बनाए वा कति समय थप दिए देश बन्छ? कस्तो विकास र परिवर्तन हुन्छ? यसकारण देशमा विद्यमान निराशा चिर्न युवाहरुले राजनीतिमा हस्तक्षेप गर्नु पर्दछ, चुनावमा हस्तक्षेप गर्नु पर्दछ,’ उनले भने ।
शनिबार राप्रपा केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो धारणा व्यक्त गरेका हुन्। कार्यक्रमबीच रामेछापका ६३ जना युवाहरुलाई अध्यक्ष लिङदेनले राप्रपामा स्वागत गरेका थिए।
युवाहरुको साथ सहयोगमा राप्रपाले विकल्प दिने, निष्ठावान र इमान्दार भएर जनअपेक्षा पूरा गर्ने उनले दावी गरे। लिङदेनले भने, ‘राप्रपामा पार्टी प्रवेशको लहर नै चलेको छ। कंचनपुर, जनकपुर, पोखरा, काठमाडौं र झापामा मात्र होइन, राप्रपाको पक्षमा देशव्यापी जनलहर चलेको छ। राप्रपा विकल्प बन्नुपर्छ भन्ने अपेक्षा छ, त्यो हामी पूरा गर्छौं।’Dainik online ma xa yo news