बुधबार ०४ जेठ २०७९

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले अबका दिन नुवाकोटलाई नै कार्यथलो बनाउने बताउनुभएको छ । केन्द्रीय राजनीतिमा व्यस्त हुनुपरेको र पार्टीले नै जिम्मेवारी दिएकाले काठमाडौँबाट चुनाव उठेको उल्लेख गर्दै नेता महतले आगामि दिनमा जिल्ला केन्द्रित हुने बताउनुभएको हो ।

सोमबार नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित ‘ठूलोछहरे सानोछहरे कुलो’ उद्घाटन गर्दै डा महतले विकासका पूर्वाधार तथा समृद्धिका आधार भनेकै सिँचाइ कुलो र खानेपानीका धारा भएको बताउनुभयो । उहाँले ठूलो योजनाको निर्माणको थालनी नै साना संरचनामार्फत हुने हुँदा देश विकासका लागि गाँउ–गाँउमा आवश्यक संरचनाको निर्माणमा सरकारले जोड दिनुपर्ने सुझाव दिनुभयो ।

“आफू सिँचाइ कुलो उद्घाटनका लागिमात्रै आएको होइन”, पूर्वमन्त्री डा महत भन्नुभयो, “संरचना निर्माणको अवस्था, आगामी दिनमा गर्नुपर्ने सम्बोधन तथा किसानका गुनासो सुन्न अवसर मिलाएको हुँ, त्यसका लागि के गर्नुपर्छ तयार छु ।”

नेता महतको अभिव्यक्ति र जिल्लामा हुने उपस्थितिको बारे नुवाकोटवासीले आगामि चुनावमा नुवाकोट क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिने तयारीको रुपमा चर्चा गर्न थालेका छन् ।

कार्यक्रममा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका डिभिजन प्रमुख हरिप्रसाद गुरागाईँ, ‘ठूलोछहरे सानोछहरे कुलो’ उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रनाथ थपलियाले भनाई राख्नुभएको थियो । रासस Nuwakot express


Last Updated on: March 8th, 2022 at 4:21 pm
२१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया