
झापा । विभिन्न पार्टी परित्याग गरी झापामा एक हजार बढी कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । राष्ट्रिय युवा संघ भद्रपुरले आज आयोजना गरेको नगर सभा एवम् झापा क्षेत्र नं.३ स्तरीय पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, राप्रपा र माओवादीलगायत विभिन्न राजनीतिक दलका अगुवासहित सर्वसाधरण कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्ने अगुवा नेता तथा कार्यकर्ताहरुमा कांग्रेसबाट रोशन श्रेष्ठ, जीवन तामाङ, लोकबहादुर श्रेष्ठ, लक्ष्मी घिमिरेलगायत रहेका छन् । राप्रपाबाट लिला अधिकारी, शान्ता थापा, तारा जोगी, अमित गणेशलगायत छन् । त्यस्तै माओवादीबाट ज्ञानु सेन्चुरी, टिका मगर, शावित्रा बि.क., रीता सेन्चुरी, आशालाल राजवंशी र सन्दीप राजवंशीलगायत छन् ।
झाँकीसहित आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा पूर्व कानून मन्त्री तथा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल, केन्द्रीय सदस्य दूर्गा प्रसाई, प्रदेशका सचिवालय सदस्य एवम् प्रदेश सांसद बसन्त बाँनिया, जिल्ला अध्यक्ष दीपक कार्की, उपसचिव असारु राजवंशीले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । सोही अवसरमा ज्येष्ठ महिलाहरुलाई अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै अग्नि खरेलले एमाले नै नेपाली जनताको भाग्य निर्माता रहेको बताएका छन् । झापा इञ्चार्ज समेत रहेका खरेलले गरीब, विपन्न जनताको प्यारो पार्टी एमाले भएका कारण सबै जनताको आशा पनि एमाले नै भएको छ । उनले भने, ‘त्यसैले आज सबैको प्यारो पार्टी बनेको छ ।’
राष्ट्रहित र विकासमा निरन्तर क्रियाशील एमाले गरीब, विपन्न नागरिकको उन्नति, भलाइका लागि सँधै योगदान गरिरहने उनको भनाइ थियो । त्यस्तै राष्ट्रको हितमा एमाले बाहेक कुनै पार्टी उभिन नसक्ने बताउदै नेता खरेलले एमसीसी सत्ता गठबन्धनको निजी स्वार्थका लागि जबरजस्ती संसदबाट पारित गरेको आरोप लगाए ।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा उनकै पार्टीबाट सयौं कार्यकर्ता एमालेमा प्रवेश गरेपछि राप्रपालाई ठूलो धक्का लागेको छ । news24 Nepal ma xa yo news