
काठमाडौं । सत्तारुढ गठबन्धनलाई हराउँदै रोल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित हुनुभएको छ ।
सङ्घको आठौँ अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हिजो मङ्गलवार भएको चुनावमा प्रतिस्पर्धी वसन्त सुवेदीलाई तीन मतले पछि पार्दै आचार्य निर्वाचित हुनुभएको हो ।
आचार्य संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवार बन्नुभएको थियो भने सुवेदी सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।
आचार्यले चार सय ३७ मत पाउँदा सुवेदीले चार सय सय ३४ मत ल्याउनुभएको निर्वाचन अधिकृत तुल्सी जीसीले जानकारी दिनुभयो ।
जम्मा एक हजार दुई सय १८ जना मतदाता रहेकामा जम्मा नौ सय ९५ मत खसेको थियो । अन्य पदाधिकारीहरू निर्विरोध भए पनि अध्यक्ष र सदस्यका लागि भने मतदान भएको थियो ।
पदभार ग्रहण र साधारण सभा भने फागुन २७ गते हुने जीसीले बताउनुभयो ।
अध्यक्षमा निर्वाचित आचार्य पूर्वउपाध्यक्ष हुनुहुन्छ भने सुवेदी पूर्वमहासचिव तथा यसअघि पनि अध्यक्षमा पराजित उम्मेदवार हुनुहुन्छ ।
वाणिज्यतर्फको उपाध्यक्षमा मिलन रोका, उद्योगतर्फको उपाध्यक्षमा गोपालप्रसाद श्रेष्ठ, महासचिवमा कमल घर्ती, सचिवमा साजनकुमार थापा र कोषाध्यक्षमा वसन्ता आचार्य निर्विरोध निर्वाचित भएका थिए ।
यस्तै नौ जना सदस्यका लागि भएको चुनावमा अशोककुमार आचार्य, इन्द्रबहादुर महरा, ऋषिराम रिजाल, चन्द्रबहादुर बुढा, दीपककुमार श्रेष्ठ, विशेष घर्ती क्षेत्री, रञ्जु पोख्रेल, शिवराज आचार्य र सुरेन्द्र थापा निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । दैनिक न्यूज नेपाल ma xa yo news