
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको चार जिल्ला– बझाङ, बाजुरा, अछाम र डोटीको सङ्गम स्थल खप्तड प्रकृतिको अनुपम उपहार भएको बताउनुभएको छ ।
खप्तड पर्यटन विकास समितिद्वारा आज मङ्गलवार आयोजित ‘खप्तडको पर्यटन विकासका लागि अन्तक्रियाु कार्यक्रमलाई काठमाण्डौमा सम्बोधन गर्दै मन्त्री आलेले खप्तड जस्तो प्राकृतिक सुन्दरता भएको ठाउँ अरू कतै नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी स्विट्जरल्यान्ड, सिङ्गापुर घुम्न गइरहेका छौँ तर त्यो प्राकृतिक होइन, कृत्रिम हो । हाम्रै देशमा भएका प्रकृतिले दिएका खप्तड, रारा जस्ता प्राकृतिक ठाउँको विकास गरौँ, पर्यटक आउने छन् ।’
मन्त्री आलेले रकमान्तर भएको बजेट खप्तडको विकासका लागि छट्याएर अर्थ मन्त्रालयमा पठाएको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आउँदो वर्षको बजेटका लागि खप्तडको मास्टर प्लान बनाएर दिएको खण्डमा थप बजेट विनियोजन गर्न सकिने छ ।’
खप्तडको समग्र विकासका लागि विगतमा पनि राष्ट्रिय योजना आयोगका सुशील भट्टलाई आग्रह गरी सिलगढीदेखि झिग्रानासम्म पर्यटकको सहजताका लागि सडक बनाउन ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
यसैगरी मन्त्री आलेले खप्तडमा पर्यटक सहजै भित्र्याउनका लागि खप्तड पर्यटन विकास समितिले योजना बनाए आफू पर्यटन मन्त्री भएका कारण आफ्नो तर्फबाट सक्दो सहयो गर्न तयार रहेको आश्वासन दिनुभयो ।
मन्त्री आलेले गौतमबुद्ध जन्मेको देश, सगरमाथाको देश भनेर चिनिने अनि १४ औँ पटक हिमाल चढ्ने निर्मल पुर्जा जस्ता व्यक्तिहरू भएको नेपाललाई विश्वसामु चिनाउन आफू अहोरात्र खटिएको समेत जानकारी दिनुभयो ।news parda ma xa yo news