मंगलबार ०४ माघ २०७८

१५ मंसिर, काठमाडौं । चारपाङ्ग्रे हलुका सवारी मानिसहरुले धकेलेको त तपाईं हामीले देखेका छौं । तर बुधबार बाजुरा विमानस्थलमा फरक दृश्य देखियो, जहाँ यात्रुहरुले तारा एयरको एउटा जहाज धकेलेका थिए ।

तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो । यति एयरलाइन्सका प्रवक्ता सुरेन्द्र बर्तौलाका अनुसार हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो ।

जहाज धावनमार्ग बाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्कियो । जहाजका कारण ट्याक्सी–वे अवरुद्ध भयो । विमानस्थलमा समिट एयर र तारा एयरबाट नेपालगञ्ज झर्न यात्रुहरु प्रतीक्षारत थिए । तर टायर पड्किएको तारा एयरलाइन्सको विमान ट्याक्सी वेबाट नहटाएसम्म उड्न नपाउने भए ।

त्यसपछि यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी–वेबाट जहाजलाई धकेलेर किनारा लगाए ।

त्यसपछि नेपालगञ्जमा रहेको तारा एयरको अर्को जहाज मार्फत टायर र इन्जिनियर लिएर बाजुरा पुग्यो । टायर फिट गरिसकेपछि दुबै जहाज अहिले नेपालगञ्ज अवतरण गरिसकेको बर्तौलाले जानकारी दिए ।


Last Updated on: December 1st, 2021 at 8:06 pm
१७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया