बुधबार ०४ जेठ २०७९

नेपाली कांग्रेसले स्थानीय तह केन्द्रित एक महिने चुनावी अभियानमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरूलाई खटाएको छैन।

केन्द्रीय सदस्यहरूलाई मात्रै जिल्ला तोकेर केन्द्रीय प्रतिनिधिका रूपमा चुनावी अभियानमा खटाइएको छ। सातै प्रदेशका सभापतिहरूलाई पनि कांग्रेसले चुनावी अभियानमा भूमिका दिएको छ तर जिम्मेवारी दिएर जिल्ला खटाएको छैन।

विगतमा कांग्रेसका चुनावी अभियानमा शीर्ष नेताहरू नै खटिन्थे।

यसपालि भने केन्द्रीय सदस्यहरूलाई अघि सारिएको छ। कांग्रेसमा पहिलेभन्दा यसपालि केन्द्रीय सदस्य संख्या पनि धेरै छ। ८६ केन्द्रीय सदस्यबाट कांग्रेसले १६८ जना पुर्‍याएको छ।

मंसिरमा भएको महाधिवेशनबाट १३४ जना निर्वाचित भएका थिए। सभापतिमा शेरबहादुर देउवासँग पराजित शेखर कोइराला स्वत: केन्द्रीय सदस्य छन्।

सभापति देउवाले विधानअनुसार थप ३३ जना मनोनीत गर्न पाउनेमा १३ जना मनोनीत गर्दा केन्द्रीय सदस्य संख्या अहिले १४७ पुगेको छ भने अझै २१ जना मनोनीत गर्न बाँकी छ।

०७९ वैशाख ३० मा स्थानीय तहको चुनाव हुँदैछ। त्यसअघि कांग्रेस दुईपटक घरदैलोमा जाने तयारीमा छ।

पहिलो चरणमा फागुन २९ देखि चैत २९ सम्म ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरिने कांग्रेसले जनाएको छ।

त्यसपछि दोस्रो चरणको अभियानमा जाँदा वडा, गाउँ/नगरका उम्मेदवारसहित घरदैलोमा जाने कांग्रेसका नेताहरू बताउँछन्।

कांग्रेस पदाधिकारीमध्ये केन्द्रीय कोषाध्यक्ष मनोनीत हुन बाँकी छ। सभापति देउवासहित दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक प्रवक्ता यो चुनावी अभियानमा जिल्ला नै जिम्मेवारी लिएर खटिएका छैनन्।

साथै नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत शीर्ष नेतालाई पनि चुनावी अभियानमा खटाइएको छैन।

कांग्रेसका यी शीर्ष नेतालाई यसपालि चुनावी अभियानमा किन जिम्मेवारी नदिइएको हो? हामीले कांग्रेस प्रवक्ता प्रकाशशरण महतलाई सोधेका छौं।

महतका अनुसार जिल्ला तोकेर चुनावी अभियानमा केन्द्रीय प्रतिनिधिका रूपमा नखटाइएका नेताहरू पनि चुनावी अभियानमा भने नेता/कार्यकर्तासँगै रहनेछन्। आफ्ना जिल्ला, निर्वाचन क्षेत्र, पायक पर्ने ठाउँमा ती नेता चुनावी अभियानमा जोडिन सक्छन्।

साथै कार्यसम्पादन समितिमा रहेका कांग्रेसका नेताहरूलाई पनि चुनावी अभियानमा खटाइएको छैन। Setopati bata


Last Updated on: March 10th, 2022 at 11:19 am
९० पटक हेरिएको

तपाईको प्रतिक्रिया