बुधबार ०४ जेठ २०७९

नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि औपचारिक रूपमै देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ।

उक्त विमानस्थलमा अबको ४२ दिनपछि अन्तर्राष्ट्रिय उडान–अवतरण हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। समस्याग्रस्त अवस्थामा रहेको गौतम बुद्ध विमानस्थलको स्तरोन्नतिपछिको उपलब्धिले बिहीबारदेखि प्राधिकरणको इतिहासमा नयाँ उचाइ थपिएको छ। यो विमानस्थल सञ्चालनको तयारी राष्ट्रिय गौरवका अन्य आयोजनाको प्रगतिमा समेत उदाहरणीय बन्ने देखिन्छ।

प्राधिकरणले बिहीबार आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआइपी) सार्वजनिक गरेसँगै उक्त विमानस्थलमा अवतरण हुने जहाजले सहजै अनुमति पाउने भएका छन्। सो एआइपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूले आफ्ना जहाजमार्फत भैरहवामा व्यावसायिक उडान भर्न ध्यानाकर्षण गराएका छन्।

विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएका तथ्यांकका आधारमा हवाई कम्पनीहरूले आफ्नो जहाज त्यहाँ उडान तथा अवतरण गर्न सक्नेनसक्नेबारे जानकारी पाएका छन्।

उड्डयन प्राधिकरणले बिहीबार जारी गरेको सूचनाअनुसार अब चाँडै गौतम बुद्ध विमानस्थलमा बोइङ तथा एयरबसका जहाजहरूले उडान भर्ने र अवतरण गर्ने निश्चित भएको छ। यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ देखि परीक्षण उडान गरी जेठ २ अर्थात् बुद्ध पूर्णिमादेखि व्यावसायिक उडान खोल्ने सरकारको तयारी छ। उक्त तयारीअनुसार विमानस्थलले अबको दुई साताभित्रै नागरिक उड्डयन संगठन (आइकाओ) को सर्टिफिकेटसमेत पाउने अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडानको तयारी सुरु भएको छ।

एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरोथाई) को विज्ञ टोलीले विमानस्थल प्राविधिक हिसाबले ठीक छ कि छैन भनी गरेको गरेको क्यालिब्रेसन फ्लाइटको प्रारम्भिक प्रतिवेदनले समेत विमानस्थल सञ्चालनयोग्य रहेको जनाइसकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार एआइपी जारी भएसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको ढोका खुलेको छ। अब काठमाडौंमा अवतरण हुन नसकेका जहाजसमेत यो विमानस्थलबाट उडान अवतरण हुन सक्ने उनको भनाइ छ।

विमानस्थलमा जडान भएका उपकरणले जहाज उडान अवतरणका लागि सञ्चारलगायत उपकरणले ठीक ढंगले काम गरेको रिपोर्टका आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूलाई भैरहवामा उडान भर्न आह्वान गरिएको उनको भनाइ छ। ‘इन्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम जडित यो विमानस्थलमा अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाजसमेत अवतरण हुने भएका छन्,’ उनले भने, ‘भिजिबिलिटी, रनवेलगायतका कारण अब जहाजले नेपालबाहिर डाइभर्ट हुनुपर्ने अवस्थाको अन्त्य भएको छ।’

हाल काठमाडौंमा जहाज अवतरणका लागि ११ किलोमिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि यो विमानस्थलमा अवतरण हुन ६ किलोमिटर भिजिबिलिटी भए पुग्नेसमेत अधिकारीले बताए। थुप्रै सम्भावना बोकेको यो विमानस्थल सञ्चालनमा आएसँगै बौद्धमार्गी पर्यटकले अन्तर्राष्ट्रिय उडानको सेवा लिन काठमाडौं नै आउनुपर्ने बाध्यताको समेत अन्य भएको उनको भनाइ छ।

प्राविधिक हिसाबले समेत यो विमानस्थलमा जहाज उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न सहज, नयाँ कन्ट्रोल टावरसँग सम्बन्धित उपकरण परीक्षण गर्न, सञ्चार, धावनमार्गको एलाइन्मेन्ट, पार्किङ वेलगायत नयाँ संरचनाले हवाई उडानमा सहजता थपिने जनाइएको छ।

व्यावसायिक उडानको बाटो खोल्ने तयारीसँगै भारतीय पक्षसँग समेत छलफल भइरहेको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए। यसअघि भारतले विमानस्थल सीमाक्षेत्रनजिकै रहेकाले त्यसबाट सुरक्षा चुनौती हुन सक्ने भन्दै नेपाललाई जानकारी गराउँदै आएको थियो। नेपालले भैरहवा,नेपालगन्ज र महेन्द्रनगरबाट हवाई प्रवेशबिन्दु दिन भारत सरकारसँग आग्रह गर्दै आएको छ।

अन्तर्राष्ट्रिय उडानको तयारीअनुसार विमानस्थल कार्यालयले भन्सार विभाग, अध्यागमन विभाग तथा सुरक्षा निकायलगायतसँगको छलफलपछि जेठ २ गते अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीअनुसार १५ दिन पहिल्यै उडान सेवा दिन तयारी अवस्थामा रहन पत्र काटिसकिएको समेत उनले बताए। हाल विमानस्थलभित्रै सुरक्षा निकायको व्यवस्थापनको काम चलिरहेको उनको भनाइ छ।

‘विमानस्थलको सुरक्षा हाई कमान्डमा रहने भन्ने तयारीअनुसार नेपाल प्रहरीबाट १ सय ७० र नेपाली सेनाबाट पनि त्यति नै संख्यामा सुरक्षाकर्मीको व्यवस्थापन हुँदैछ,’ उनले भने, ‘अन्य कर्मचारीको समेत व्यवस्थापन भइसकेको छ।’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा व्यवस्थापनका लागि विभिन्न सञ्चालन मोडालिटीमा छलफल भइरहेको र प्राधिकरणबाटै कर्मचारीसमेत व्यवस्थापन भइसकेको उनले बताए।

विमानस्थलको सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणबाट डेढ सय कर्मचारीको दरबन्दीसमेत तय भइसकेको छ। हाललाई विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरण आफैंले गर्नेछ भने ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल वायुसेवा निगमले नै गर्नेछ। त्यस्तै फ्लाइट क्याटरिङको सेवा सोल्टी क्राउनले गर्नेछ। विमानस्थलमा कार्गाे व्यवस्थापनको काम नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्ने तयारी रहेको छ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सुरुवाती लक्ष्यअनुसार आर्थिक वर्ष २०७२÷७३ मा सुरु भएको हो। विमानस्थल एसियाली विकास बैंकले सहुलियतपूर्ण ऋणमा करिब ३१ अर्ब रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ।

३ हजार मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग रहेको यो विमानस्थल सञ्चालनमा आएसँगै काठमाडौं विमानस्थल व्यवस्थापनमा समेत सहज हुनेछ। हाल काठमाडौं विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानतर्फ दुईवटा नेपाली वायुसेवासहित १५ मुलुकका ३२ वटा गन्तव्यमा उडान हुँदै आएको छ। यस विमानस्थल सञ्चालनबाट बौद्धमार्गी पर्यटकहरूलाई अझ सहज हुने अपेक्षा लिइएको छ।

यो विमानस्थल सञ्चालनमा आउने तयारीसँगै विदेशी हवाई कम्पनीसमेत नेपालमा उडान भर्न तयार देखिएका छन्। स्रोतका अनुसार गल्फ एयर, थाई एयर, गो एयर, विज एयरलगायत हवाई कम्पनीले नेपालमा उडान गर्न खोजेका छन्। नागरिक दैनिकमा खबर छ


Last Updated on: March 11th, 2022 at 11:25 am
२०० पटक हेरिएको

तपाईको प्रतिक्रिया