बुधबार ०४ जेठ २०७९

किभ । करिब एक साताअघि युवाहरूको एक समूहलाई भेटेको थिएँ । उनीहरूले युक्रेनका लागि लड्न राजधानी किभस्थित एउटा स्वयमसेवकको तालिम लिएका रहेछन् । उनीहरूमध्ये अधिकांश किशोरावस्थाको उत्तरार्धका देखिन्थे ।

उनीहरूले भर्खर मात्र माध्यमिकस्तरको शिक्षा पार गरेको हुनुपर्छ । उनीहरूले मलाई तीन दिने आधारभूत तालिम सकाएर युद्धको अग्रमोर्चा वा त्यसको नजिक लड्नका लागि प्रस्थान गर्न लागेको बताएका थिए ।

जीवविज्ञानका विद्यार्थी १९ वर्षीय माक्सिम लुत्सिकले सैनिक बन्ने प्रयास स्वरुप एक साता भन्दा कम समयको प्रशिक्षण लिएपछि आफूलाई पटक्कै डर नलागेको बताए । हुन त उनले पाँच वर्षसम्म स्काउटमा पनि काम गरिसकेका रहेछन् । त्यसबेला नै उनले केही हातहतियार चलाउने तरिका पनि सिकेका थिए ।

रुसको प्रायोजनमा सन् २०१४ मा युक्रेनमा लामो पृथकतावादी युद्ध सुरु हुँदा उनी १० वर्षका मात्र थिए । उनीसँगै उनकै विश्वाविद्यालयमा अर्थशास्त्र विषय अध्ययन गरिहरहेका उनका १८ वर्षीय मित्र दिमित्री किसिलेन्कोले पनि स्वयमसेवकको तालिम लिएका छन् । ती कलिला युवाहरूले अब आफूलाई फुच्चे नठान्ने निणर्य गरिसकेका छन् । आफ्नो चिन्ता लुकाउन कसैले जोक सुनाउँदा उनीहरू ठूलो स्वरले हाँस्दै आफूहरूमा डर नभएको प्रमाण दिन खोज्छन् ।

उनीहरूमध्ये केहीले लगाइरहेका घुँडाको प्याड निकै साना देखिन्थे । मानौं ती प्याड उनीहरूले १२औं जन्म दिनमा उपहार स्वरूप पाएका हुन् । केहीले स्लिपिङ ब्याग बोकेका थिए । एक जनासँग त योगा गर्ने म्याट पनि थियो । तालिम अखडासम्म लिएर जाने बसको पर्खाइमा रहेका उनीहरू कुनै महोत्सवमा भाग लिन जान लागेका जस्तै देखिन्थे ।

सहरको पूर्वी भागमा खटाइएका उनीहरूलाई पुनः भेट्न जाँदा उनीहरू फेरिएको पाएँ । उनीहरूले पोशाक र शरीर सुरक्षाका वस्तुहरू, स्थल सेनाकै घुँडाका प्याड र हेल्मेट लगाएका रहेछन् । उनीहरूले चेक प्वाइन्टमा आफ्ना तालिमका सिकाइको सदुपयोग गर्दै वास्तविक अवरोधका लागि बालुवा भरिएका बोराहरू र स्टिल ट्रयापहरूको व्यवस्था गर्दै थिए ।

दिमित्रीले मलाई भने, ‘मलाई त बन्दुक चलाउने बानी नै बसिसक्यो । कसरी गोली चलाउने युद्धको बेला के गर्ने भन्नेबारे सिकिसकें । रुसी फौजसँग भिड्न अन्य धेरै सीपहरू पनि सिकेको छुँ ।’ शायद आफूले के सोचिरहेको छुँ भन्ने कल्पनै गर्न नसकेर होला त्यसपछि उनी बेस्सरी हाँसे ।

माक्सिम भने तुलनात्मक रूपमा धेरै गम्भीर र हतारिएको जस्तो देखिन्थे । उनले भने, ‘पहिले भन्दा मेरो आत्मविश्वास धेरै बढेको महसुस भइरहेको छ । किनभने हामीले प्रशस्त मात्रामा युद्ध कौशललगायत, मार्सल आर्टस, औषधि उपचारसम्बन्धी ज्ञान हासिल गरेका छौँ । युद्ध भूमिमा के चिज कसरी गर्ने भन्ने सिकेका छौँ ।’

उनले आधा ठट्टा मिसिएको श्वरमा भने, ‘मलाई त क्रेमलिनमा युक्रेनको झण्डा फरफराएको हेर्ने धोको छ ।’ सबैका दिमागमा एउटै प्रश्न छ, ‘के युद्ध किभमा पुग्दैछ ?’ दिमित्री भन्छन्, ‘यो पक्कै सभम्व छ । हामीले उनीहरूलाई यतै रोक्नुपर्छ । किनभने यदि उनीहरू किभमा पुगे भने यो युद्ध नै समाप्त हुन सक्छ । त्यसै कारण पनि किभ जाने बाटोभरि अवरोधहरू तेर्साइएका छन् । यी किशोरहरू सबै अहिले बमबारी भइरहेको रुसी सीमा नजिकको एउटै सहरका हुन् । उनीहरूका परिवार अझै त्यही छन् । मैले उनीहरूलाई उनीहरूको कामप्रति उनीहरूका परिवारले कस्तो सोच्छन् भनेर सोधें ।

माक्सिमले ठट्टा गरे, ‘मेरी आमाले त कुनै आश्रयस्थलमा स्वयमसेवक बनेर खाना पकाएर बस्नु भन्नु भएको थियो ।’ उनले परिवारलाई चिन्ता नहोस् भन्ने हिसाबले आफ्नो खटाइको विस्तृत विवरण उनीहरूलाई भनेका छैनन् । दिमित्रीका मातापितालाई उनले के गर्दैछन् भन्ने थाहा छ । उनले मालोतोभ ककटेल बनाएर स्वयमसेवकको काम सुरु गरेका थिए ।

केही दिनपछि उनले फोन गरेर आफ्नो पितालाई आफूले भौगोलिक प्रतिरक्षाका लागि फौजमा भर्ति हुने निणर्य गरेको सुनाए । उनका पिताले हिरो बन्नका लागि धेरै मिहेनत नगर्नु भनेर सल्लाह दिए । दिमित्रीले आफ्नो अभिभावक आफूले गरिरहेको कामप्रति गौरान्वित रहेको बताउँछन् । उनी निकै खुशी देखिन्थे । मैले उनलाई अगाडि सामना गर्नुपर्ने कुराप्रति डर त लागेको छैन भनेर सोधें ।

उनले भने, ‘त्यति धेरै त डर लाग्दैन । तर, डर लाग्नु मानव स्वभाव नै हो । अवश्य पनि आत्माकोभित्रै देखि अलि डर लाग्छ । वास्तवमा मर्ने रहर कसलाई हुन्छ, र ? आफ्नै मुलुकको खातिर नै किन नहोस् । त्यसैले मृत्यु हाम्रा लागि एक विकल्प होइन ।

दिमित्री र माक्सिमले आफ्ना भविष्यका सपनाहरू, साथीभाइसँगका रमाइला क्षण, अध्ययन पूरा गर्ने, करियर बनाउने र अन्ततः घरजम गर्ने सम्मका कुरा गरे । युरोपको यस युद्धमा समाहित हुने युवा पिँढीले जस्तै उनीहरूका परिवारहरूले पनि आफ्ना छोराहरूका योजना, ऊर्जा र जीवन युद्धको क्रुरताबाट चकनाचुर नहोस् भनेर प्रार्थना गरिरहेका हुनुपर्छ । News 24 Nepal ma xa


Last Updated on: March 14th, 2022 at 11:17 am
१६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया