
नेपाली कांग्रेसले ७७ जिल्लामै अधिवेशन सकेको छ।
यसपालि कांग्रेस अधिवेशनमा विभिन्न गुटबीच प्रतिस्पर्धाले रोचक बनेको थियो।
सभापति शेरबहादुर देउवा पक्षबाटै कतिपय जिल्लामा दुई उम्मेदवार उठे भने शेखर कोइरालानिकटहरू पनि सभापतिका लागि आपसमा भिडेका थिए।
झापा, बागलुङलगायतमा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले पनि सभापति जितेको थियो।
मंसिरमा भएको केन्द्रीय महाधिवेशनमा सभापति पदमा दोस्रो चरणमा देउवा र शेखरबीच प्रतिस्पर्धा भएको थियो। देउवालाई दोस्रो चरणमा सभापति पदमा विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतले समर्थन गरेका थिए।
रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला भने यसपालि सभापति नै उठेनन्। पौडेल मौन बस्दा सिटौला भने देउवालाई समर्थन गर्न जुटेका थिए।
केन्द्रीय महाधिवेशनपछि भएका जिल्ला अधिवेशनमा भने देउवा र कोइराला पक्षबीच प्रतिस्पर्धा भएका छन्। धनुषामा भने विमलेन्द्र निधि पक्ष र देउवा पक्षबीच सभापतिमा प्रतिस्पर्धा हुँदा निधि पक्षले जितेका थिए।
सिटौला, निधिसहित सभापति देउवा पक्षले ४४ जिल्ला सभापति जितेका छन् भने पौडेलसहित शेखर पक्षले ३३ जिल्ला सभापति जितेका छन्। गोरखा, मनाङ, मुस्ताङलगायत केही जिल्लामा भने सभापति पदमा सर्वसम्मत भए पनि अरू पदमा चुनाव भएको थियो। Setopati ma xa