मंगलबार ०४ माघ २०७८

काठमाडौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिनुभएका राजेन्द्र लिङ्देनले आफ्नो नेतृत्वमा पार्टी देशको पहिलो पार्टी बन्ने बताउनुभएको छ ।

भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लिङ्देनले आफ्नो नेतृत्वमा राप्रपालाई देशकै पहिलो पार्टी बनाउने बताउनुभयो ।

‘राप्रपा राष्ट्रिय पार्टी पनि नरहेको अवस्थाबाट माथि उठाउँदै मैले यसलाई अहिलेकै निर्वाचनमा सम्मानजनक स्थितिमा पुर्याउँछु,’ उहाँले भन्नुभयो, ‘मेरो जीवनकालमा राप्रपालाई नेपालको पहिलो पार्टी बनाएर छाड्छु ।’

लिङ्देनले पार्टीको मुख्य एजेण्डा रहेको हिन्दु राष्ट्र र राजसंस्थालाई पुनःस्थापना गराएरै छाड्ने दाबी गर्नुभयो ।

सके निर्वाचनबाट र नसके आन्दोलनबाट पार्टीको एजेण्डालाई स्थापित गर्ने आफ्नो धेय रहेको बताउनुभयो ।

महामन्त्रीसमेत रहनुभएका लिङ्देनले राजा र हिन्दुराष्ट्रको पक्षमा रहेका सबैलाई समेटेर राप्रपालाई बलियो बनाउने प्रण गर्नुभयो ।

देशमा व्याप्त भ्रष्टाचार र विकृति हटाउनका लागि पनि राप्रपाका प्रतिनिधिले आफूलाई नेतृत्वमा पुर्याउन आवश्यक रहेको उहाँको दाबी छ ।

झापामा राप्रपा कार्यकर्ता बढाएर निर्वाचन जितेको र जिताएको स्मरण गर्दै लिङ्देनले झापामा बढ्नसक्ने कार्यकर्ता र शुभेच्छुक देशभर किन बढ्न सक्दैन भनेर प्रश्नसमेत गर्नुभयो ।

अहिलेको राप्रपा पहिलेको जस्तो नभएर नवीनतम बनाउनुपर्नेमा जोड दिँदै उहाँले आफूले नवीन राप्रपाको योजना बनाएको बताउनुभयो ।

म अध्यक्ष बन्दा कसैले अपमानित हुनु पर्दैन : राजेन्द्र लिङ्देन

काठमाडौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनले आफूले उम्मेदवार घोषणा गर्दैमा कसैले अपमानित हुनु नपर्ने बताएका छन् ।

आफ्नो उम्मेदवारी घोषणालाई उनले देश बचाउने र राप्रपालाई एक नम्बरको पार्टी बनाउने अभियानको रुपमा व्याख्या गरेका छन् ।

राप्रपाका एक जना अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेको जानकारी दिन मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लिङ्देनले सो कुरा बताएका हुन् ।

राप्रपा अध्यक्ष कमल थापाले लिङ्देनलाई अझै चार वर्ष पर्खिन गरेको आग्रहको जवाफ पनि लिङ्देनले सोही कार्यक्रममा दिए । उनले भने, ‘मैले उम्मेदवारी घोषणा गर्दैमा कसैले अपमानित हुनु पर्दैन । म बन्नुमा उहाँको (कमल थापाको) पनि लगानी छ ।’

अहिलेकै अवस्थामा पार्टी अघि बढ्ने हो भने कुनै पार्टीको दलाली गरेर दुई–चार वटा मन्त्री खाने पार्टी मात्र हुने उल्लेख गर्दै उनले भने, ‘मेरो सपनाको त्यो पार्टी होइन, अब हामीले आँट नगरी भएन भनेर अघि बढेको हुँ ।’

पार्टीभित्र रहेका अग्रज नेताहरूलाई लक्षित गर्दै उनले भने, ‘तपाईंहरूले उत्पादन गरेको पुस्ता पनि पार्टीको नेतृत्व गर्न योग्य भयो, हामी नेतृत्व गर्न सक्छौं भनेर अग्रजहरूकै अभिभावकत्वमा तपाईंहरु जिउँदो हुँदै राप्रपालाई नेपालको एक नम्बर पार्टी बनाउन सक्छौं भनेर आँट ग¥यौं ।’

पुस्ता र उमेरको कुरा गरेर मात्रै अध्यक्षको उम्मेदवार बन्ने घोषणा नगरेको बताउँदै उनले भने, ‘उमेर र पुस्ताको कुरा मात्रै होइन । उमेरको कुरा गर्ने हो भने राजाको आशिर्वाद लिएर ३०–४० वर्षको उमेरमा मन्त्री भएका थिए । त्यसबेला हामीले सोधेका थियौं र ? यो राप्रपा मात्र होइन, देश बचाउने सन्देश लिएर जाने कुरा हो ।’

राप्रपालाई बचाउन राप्रपाभन्दा बाहिरका मान्छे पनि पार्टीमा ल्याउनुपर्ने बताउँदै उनले कार्यकर्ताको कुरा सुन्न थापालाई आग्रह गरे । ‘राप्रपालाई बचाउन राप्रपाभन्दा बाहिरको मान्छे ल्याउनुपर्छ । सम्पूर्ण कार्यकर्ताको कुरा सुन्नुस्, यहाँभन्दा बाहिरको कुरा सुन्नुस् ।’

राप्रपाभित्रको कुरामात्रै सुन्दा तीन प्रतिशतमा खुम्चिनु परेको कुरालाई स्मरण गर्न उनले आग्रह गरे ।

राप्रपाको नेतृत्व परिवर्तन नभए अन्य दलको दलाली गरेर दुई–चारवटा मन्त्री पद पाउने पार्टी मात्रै हुने बताउँदै उनले भने, ‘मेरो कल्पनाको, सपनाको पार्टी त्यो होइन । राप्रपालाई अग्रजहरुकै सल्लाहमा, उपस्थितिमा एक नम्बर पार्टी बनाउने अभियान हो ।’

लिङ्देनले राप्रपाका अन्य दुई अध्यक्ष (कमल थापा र पशुपति शम्सेर जबरा) लाई पनि समर्थन गरिदिन आग्रह गरे ।

लिङ्देनले ६ महिनाभित्र राजसंस्था, हिन्दु राष्ट्र र भ्रष्टाचार अन्त्य गर्नुपर्छ भन्ने साना पार्टी र संस्थासँग मिलेर संयुक्त आन्दोलन गर्ने पनि बताए ।


Last Updated on: December 5th, 2021 at 8:40 am
४४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया