शुक्रबार ०७ माघ २०७८

चितवन।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जल, जंगल र जमिनको सही ढंगले प्रयोग गर्ने गरी विकास गर्नुपर्ने बताएका छन्। भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सिबीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा उनले जल, जंगल र जमिनको सही ढंगले सदुपयोग गर्ने किसिमले पूर्वाधार निर्माण गर्नुपर्ने बताएका हुन्। यस्तो विकासले यहाँको समृद्धिको यात्रामा गुणात्मक उपलब्धि हासिल गर्ने उनको भनाइ थियो।

उनले भने, ‘नारायणी, राप्ती, रिउ, राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीयस्थल सबै यही ठाउँमा हुनु विकासका लागि राम्रो कुरा हो।’ यी सबै जल, जमिन र जंगलसँगै सम्बन्धित रहेको भन्दै उनले जिल्लाको विकासका निम्ति मात्रै नभई राष्ट्रियरुपमा आर्थिक बिकासका निम्ति मोडेल रहेको बताए। आफूले यसलाई चितवनको विकासको मोडेलको रुपमा लिएको उनको भनाइ थियो।

सिबीच मोडलको रुपमा नारायणी नदीको विकास गर्नुले यहाँको पर्यटन, सौन्दर्य र जलको सदुपयोगको दिशामा पानि एउटा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए। नेपालका धेरै ठाउँमा जल, जंगल र जमिनको प्रयोग गरी विकास गर्न सकिने ठाउँ रहेको भन्दै उनले सिंगापुरको सन्तोसा आइल्याण्डजस्तै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए। यसले आन्तरिक मात्रै नभई बाह्य पर्यटकसमेत आकर्षित गर्ने उनको भनाइ थियो।

विकासको मोडल चितवनले प्रस्तुत गर्नुपर्ने भन्दै उनले सबै नागरिक एक ठाउँ भएर काम गर्न जरुरी रहेको बताए। उनले भने, ‘भरतपुरमा तीव्र गतिमा भौतिक विकासका काम भइरहेका छन्। चितवन र भरतपुरमा हुने आर्थिक विकासका गतिविधि राष्ट्रियरुपमा सबैका निम्ति अध्ययन गर्ने विषय हुन् भन्ने हाम्रो चाहना छ।’ जिल्लाको विकासका लागि ठूला-ठूला परियोजना सोचिएको भन्दै उनले भने, ‘शक्तिखोरबाट सुरुङमार्ग बनाउने, रेललाइन ल्याउने, मकवानपुर चितवन र नवलपुरलाई जोडेर बृहत्तर आर्थिक परियोजना बनाउनेसम्मका सपना छन्।’

यो विकासको पनि केन्द्र बिन्दु होस् भन्नका लागि सबैले सपना देखेको उनको भनाइ छ। देशको राजनीतिको केन्द्र चितवन बनेको भन्दै उनले देशभरिका जनताले अध्ययन गर्ने गरी यहाँको विकास गरिने बताए। प्रचण्डले पछिल्लो समय चितवन सबै पार्टीको नजरमा परेको बताए। सबैको रोजाइमा पर्नु चितवनवासीका लागि खुसीको कुरा भएको पनि बताए।

महाधिवेशनका लागि सबैको नजरमा परेको उल्लेख गर्दै प्रचण्डले भने, ‘कोही लोभले, कोही डाहले, कोही मायाले, कोही केले, कोही केले सबै चितवन नै आउन चाहने भए आजभोलि। अस्ति भर्खर ठूलो मेला लाग्यो नि नारायणी नदी किनारमा। चितवनलाई माया गरेर त होला त्यत्रो मेला लाग्यो यहाँका बाटाघाटा कस्ता रहेछन् भनेर हेर्न पनि होला।’ उनले देशलाई एकताबद्ध गर्ने तथा जनता र गणतन्त्रको रक्षा गर्ने पार्टी माओवादी मात्रै भएको पनि दाबी गरे। त्यस्तै उनले सबै जनताले माओवादी पार्टी बलियो भए मात्रै देश र जनता बलियो हुन्छन् भन्ने बुझेको पनि बताए।

सो अवसरमा महानगर प्रमुख रेनु दाहालले सो ठाउँमा पर्यटकीय पूर्वाधारका लागि विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको बताइन्। जसका लागि २९ करोड आवश्यक हुने उनको भनाइ थियो। हाल पर्यटन बोर्डले आह्वान गरेको बोलपत्रमा छ करोड ६७ लाखमा ठेकेदार कम्पनीले स्वीकार गरेको छ। दाहालका अनुसार गत वर्ष उद्योग वाणिज्य संघसँग मिलेर ९७ लाखको पदमार्ग निर्माण गरी सकिएको छ। हाल दुई दशमलव पाँच किलोमिटर लामो पदमार्ग, तीन वटा पार्किङस्थल र जग्गा व्यवस्थापन गरिने उनले जानकारी दिइन्।

नारायणीको किनारलाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महानगर लागि परेको उनले बताइन्। पुलबाट पूर्वतर्फको नारायणी किनारको करिब ३० बिघा क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्ने र पश्चिमतर्फको नगरवनलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने दाहालले जानकारी दिइन्। कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बहुवर्षीय आयोजनाको रुपमा यसको विकास गरिने बताइन्।खबर प्रवाह बाट


Last Updated on: December 5th, 2021 at 10:46 am
१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया