बुधबार १२ माघ २०७८

आउँदो पुष २ गतेबाट फिल्म ‘चपली हाइट ३’ प्रदर्शनमा आउँदैछ । नाम चलेका कलाकारहरुको अभिनय र हिट फिल्मको सिक्वेल भएकाले फिल्मले हलसम्म दर्शक तान्ने अपेक्षा धेरैको छ । तर, यो फिल्म रिलिज हुने मितिमै साउथ फिल्म ‘पुष्पा’ र अंग्रेजी फिल्म ‘स्पाइडर म्यान’ पनि प्रदर्शन हुँदैछ । जसले गर्दा ‘चपली हाइट ३’ लाई बक्सअफिसमा गाह्रो पर्न सक्ने कतिपयको विश्लेषण छ ।

फिल्मका निर्माता अर्जुन कुमारले साउथ फिल्मको हिन्दी डब नेपाल ल्याएर नेपाली फिल्मलाई तर्साउन खोजेको भन्दै मिडिया र सामाजिक सञ्जाल मार्फत् आक्रोश पोखिरहेका छन् । उनले साउथ फिल्मको हिन्दी डब ल्याउनु नेपाली फिल्मप्रति गद्दारी रहेको समेत बताएका छन् । यसबीच, उनले ‘पुष्पा’ को हिन्दी डब नेपाल आए ‘चपली हाइट ३’ हलमा रिलिज नगर्ने घोषणा; गरेका छन् । 

आइतवार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले भने- ‘साउथ फिल्म (पुष्पा) को हिन्दी डब नेपाल आयो भने म हलमा फिल्ममै रिलिज गर्दिनँ । म अरु निर्मातालाई पनि नेपाली फिल्म अहिलेका लागि स्थगित गर्‍यौं भनेर अभियान चलाउने सोचमा छु । म चुप लागेर चाहिँ बस्दिनँ ।’ हलिउड फिल्म ‘स्पाइडर म्यान’ नेपाल आएको अवस्थामा भने फिल्म रिलिज गर्ने उनको भनाई छ ।

उनले ‘पुष्पा’ देखि आफू डराएको स्वीकार गरे । अर्जुन अगाडि भन्छन्, ‘म अल्लू अर्जुन, सलमान खान, शाहरुख खान, अक्षय कुमारको फिल्मसँग भिड्न सक्दिनँ । मैले विदेशी फिल्मको विरोध गरेको होइन । यस्तो अवस्थामा नेपाली फिल्मलाई सपोर्ट गरौं भनेर आग्रह मात्र गरेको हुँ । यदी नेपाली फिल्मलाई भन्दा विदेशी फिल्मलाई प्राथमिकतामा राखिन्छ भने म फिल्मै लगाउँदिनँ ।’


Last Updated on: December 6th, 2021 at 12:59 pm
२५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया