मंगलबार ०४ माघ २०७८

काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३२ वर्षदेखि नेकपा माओवादीलाई एकल नेतृत्वमा हिँडाउँदै आएका छन् । २०४६ सालमा सिपी गजुरेल वरिष्ठ नेता हुँदाहुँदै मोहन वैद्यले दाहाललाई नेतृत्व हस्तान्तरण गरेपछि आजसम्म उनी अध्यक्ष छन् । आगामी पुस ११–१३ गतेसम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनबाट पनि निर्विकल्परुपमा दाहाल नै अध्यक्ष हुने अवस्था रहेको छ ।

माओवादीबाट वैद्य, गजुरेल, बाबुराम भट्टराई र रामबहादुर थापा ‘बादल’ बाहिरिएपछि दाहाललाई तत्कालै चुनौती दिने कोही नभएकाले आगामी महाधिवेशनबाट पनि उनी सर्वसम्मत अध्यक्ष हुने माओवादी केन्द्रका नेता कार्यकर्ता बताउँछन् ।

२०४६ सालमा नेकपा मसालको महामन्त्री, २०४८ सालमा नेकपा एकता केन्द्रको महामन्त्री, २०५१ सालमा नेकपा माओवादीको महामन्त्री, २०५७ सालमा अध्यक्ष र २०६५ सालमा एकीकृत नेकपा माओवादीको अध्यक्ष बनेका प्रचण्ड अहिले पनि अध्यक्षको निर्विकल्प दाबेदार रहेका छन् ।

२०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टीको सबै अधिकार आफूमा केन्द्रित गरेका प्रचण्डले २०६५ सालमा वैद्य र भट्टराईलाई उपाध्यक्ष तथा थापालाई महासचिव बनाएर माओवादीलाई बहुपदीय प्रणालीमा लगे पनि त्यो बीचमै तुहिएको थियो ।

अहिले माओवादी नयाँ विधान ल्याएर पुनः बहुपदीय प्रणालीमा जान खोजिरहेको छ । माओवादीले लोकतान्त्रिक धारमा आएपछि बहुपदीय प्रणाली अपनाए पनि प्रचण्डले सबै अधिकार आफूमा केन्द्रित गरेका थिए ।

‘अहिले पनि मूल नेतृत्व दाहाललाई चुनौती दिने अवस्था छैन, बाँकी पदाधिकारी को–को हुने भन्ने प्रतिस्पर्धा होला तर त्यो पनि सहमतिमै टुंगिन्छ,’ माओवादीका एक नेताले भने । माओवादीभित्र धेरै नेताहरु प्रचण्डको उत्तराधिकारीका रुपमा आएको भए पनि पार्टी विभाजन भएपछि भने दाहाल मात्रै त्यसको हकदार देखिएका छन् ।

पार्टी विभाजन हुनुअघि वैद्य, भट्टराई, गजुरेल र थापाले नेतृत्वमा दाबी गरेका थिए तर उनीहरुले पार्टी छाडेपछि संगठन सुदृढ गर्ने भन्दै दाहालको विकल्प नखोजिएको नेताहरुले बताएका छन् । एकता केन्द्रबाट माओवादीमा आएका नारायणकाजी श्रेष्ठ अहिले भइरहेका नेताहरूभन्दा वरिष्ठ भए पनि उनलाई मूल नेतृत्व दिने पक्षमा कोही छैनन् ।

माओवादी नेताहरुमा पम्फा भुसाल, वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेत र देव गुरुङ नेतृत्वका लागि नयाँ अनुहार भए पनि उनीहरु अध्यक्ष बाहेकका पदमा मात्रै दाबी गर्ने अवस्थामा रहेका छन् । बहुपदीय संरचनामा गएपछि श्रेष्ठ लगायतका केही नेता उपाध्यक्ष रहने, पुन, शर्मा, बस्नेत, गजुरेल लगायतले महासचिव दाबी गर्ने अवस्था रहेको छ ।

पुन लामो समयदेखि बिरामी भएर हाल चीनमा उपचार गराइरहेका छन् । यसैकारण उनी अहिले महासचिव दाबी गर्ने अवस्थामा नभएकाले शर्मा, गजुरेल र बस्नेतले सो पदमा दाबी गर्ने सम्भावना रहेको छ ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल संसदीय राजनीतिमा प्रवेश गर्दाको अवस्था र त्यसअघिको अवस्थालाई छुट्टै रूपमा लिनुपर्ने बताउँछन् । ‘२०४६ सालमा प्रचण्डले नेतृत्व लिए पनि २०६२र०६३ को आन्दोलनपछिको अवस्थालाई मात्रै गणना गर्दा राम्रो हुन्छ, त्यति बेला एउटा मिसन बोकेर आन्दोलनमा होमिएको थियो । अहिले त्यो मिसनभन्दा बाहिर रहेकाले २०४६ देखिको नेतृत्वलाई एउटा चरण र २०६२ सालपछिको अवस्थालाई अर्को चरणमा हेर्नुपर्छ,’ पोखरेलले भने ।

उनका अनुसार माओवादी भनेको दाहाल र दाहाल भनेको माओवादी भन्ने ‘ब्रान्ड’ भएकै कारण मूल नेतृत्वका लागि छलफल हुन नसकेको हो । ‘जसरी २०४६ सालपछि एमालेका नेताहरु आफैं नयाँ लिडरका रूपमा आए, त्यसैगरी माओवादी नेताहरु पनि २०६३ सालपछि नयाँ लिडरको रूपमा आए । त्यहाँ पनि नेतृत्वमा पुग्नसक्ने राष्ट्रिय नेताहरु थिए र छन् पनि तर अहिलेको हकमा उहाँहरू देखिनुभएको छैन । योभन्दा अर्को पटक हुने राष्ट्रिय सम्मेलनमा यसको बहस हुन्छ जस्तो मलाई लाग्छ,’ उनले भने ।

राजनीतिक विश्लेषक पोखरेलका अनुसार माओवादी युद्धबाट आएको पार्टी भएकाले तत्कालै उसको नेतृत्व परिवर्तनतर्फ कोही पनि नलागेको र अरु दाहालको छायाँमा परेका हुन् तर अहिले माओवादी केन्द्रमा रहेका नेताहरु राष्ट्रियस्तरमै प्रभाव जमाउने भएका कारण नेतृत्व लिन सक्षम भएको उनले बताएका छन् ।

‘माओवादीकै उत्पादन हुन् रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी । उनीहरु अहिले पार्टीबाहिर छन् । माओवादभित्र पम्फा भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, हरिबोल गजुरेल लगायतका धेरै नेता हुनुहुन्छ । उहाँहरु नेतृत्वका लागि सक्षम हुनुहुन्छ । तर अहिले उहाँहरुले नेतृत्वको कुरा उठाउनुभएको छैन,’ पोखरेलले भनेका छन् ।

माओवादीभित्र दाहाललाई आन्दोलनमा सफल भएको नेताको रूपमा लिने गरिन्छ तर नेतृत्व विकासमा भने उनी कमजोर भएको टिप्पणी गरिन्छ । नेतृत्व विकासमा कमजोर भएकै कारण नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरु पार्टीबाट बाहिरिएको बुझाइ माओवादी नेताहरुको रहेको छ ।

पुसमा हुने राष्ट्रिय सम्मेलनबाट चन्दलाई पार्टीमा ल्याउन कसरत पनि भइरहेको छ । ‘चन्दलाई महासचिव दिएर भए पनि पार्टीमा ल्याउनुपर्छ भन्ने बहस चलेको छ । यो नेतृत्व विकासको चरण पनि हो,’ दाहाल र चन्दबीच सम्पर्कसूत्रको काम गरिरहेका एक नेताले भनेका छन् ।

माओवादी शान्ति प्रक्रियामा आएलगत्तै पार्टीमा वैद्यले प्रचण्डलाई चुनौती दिएका भए पनि त्यसमा उनी सफल भएनन् । पार्टीको विचार र कार्यदिशालाई लिएर २०६५ मंसिरमा वैद्यले खरिपाटी भेला ९विस्तारित बैठक० मा समानान्तर दस्तावेज पेश गरेका थिए । पहिलोपटक वैद्यले समानान्तर दस्तावेज पेस गरेर नेतृत्वलाई चुनौती दिएपछि थापाले प्रचण्डलाई सहयोग गरेका थिए ।

थापाको सहयोगमा दाहाल अल्पमतमा पर्नबाट जोगिएका थिए । पार्टीभित्र आफू असुरक्षित भएको महसूस भएपछि दाहालले श्रेष्ठको पार्टी एकता केन्द्रसँग एकता गरेका थिए । त्यसपछि वैद्य, भट्टराई, थापा र चन्द पार्टीबाट बाहिरिएका थिए । उनीहरु बाहिरिएपछि दाहाललाई नेतृत्वमा टिकिरहन सहज भएको छ ।

२०६९ माघमा माओवादीले हेटौंडामा सातौं राष्ट्रिय सम्मेलन गरेको थियो । सम्मेलनबाट पनि प्रचण्ड नै अध्यक्ष भएका हुन् । २०७१ सालमा पुनः विराटनगरमा भएको राष्ट्रिय सम्मेलनले पनि प्रचण्डलाई नै नेतृत्वमा निरन्तरता दियो । त्यसयता पनि निरन्तर प्रचण्ड अध्यक्ष रहेका छन् ।

‘मूल नेतृत्वको विषयमा कसैले पनि चुनौती दिने अवस्था छैन । यसबारे हामी पार्टीभित्र एकमत छौं,’ केन्द्रीय सदस्य शिवबहादुर बस्नेतले भने । उनका अनुसार मूल नेतृत्व परिवर्तन गर्ने विषयमा कहीँकतै छलफल भएको छैन । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।


Last Updated on: December 9th, 2021 at 6:47 am
१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया